बत्ती बाल्ने दिन गन्ती शुरु
September 17, 2018
अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम
September 17, 2018

इन्द्रजात्राको तयारी तीब्र

काठमाडौँ, असोज १ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रीकुमारी रथयात्राको साइत सार्वजनिक गरेको छ । सो साइत अनुसार असोज ८ गते जैशिदेवलतर्फ रथयात्रा र ९ गते नरदेवीतर्फ रथयात्रा हुने छ ।
किलागलतर्फको नानिचा यात्रा भने असोज १२ गते परेको छ । भोटाहिटीमा रहेको इन्द्रजात्राको लिङ्गो असोज १ गते बिहान १०ः१७ बजेको साइतमा नगरप्रवेश गराइ हनुमानढोका दरवारतर्फ ल्याउनुपर्ने छ । नानिचा यात्रा सकिएपछिको राति १०ः२७ बजे जात्रा समापन हुन्छ ।
इन्द्रध्वजोत्थान भने असोज ५ गते ८ः०५ बजे तोकिएको छ । जात्राको क्रममा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथलाई वसन्तपुर दरवार परिसरमा ल्याइएको छ । श्रीकुमारीघरमा यी देवताका लागि आवश्यक १०८ प्रकारका मिठाई बनाउने कार्य सुरु भएको छ ।
प्राप्त जानकारी अनुसार भक्तपुरका भजगोविन्द प्रजापतिको अगुवाइमा हलवाईको जमात मिठाई तयार गर्न लागेका छन् । श्रीकुमारीघरमा जात्राका सबै आवश्यक कार्य गर्न खटाइनुभएका सुरेन्द्र अमात्य (अनामनगर) का अनुसार तोकिएको साइत अनुसार नै इन्द्रजात्राको सबै काम अगाडि बढाइने छ ।
साइत पर्चालाई परम्परा अनुसार हनुमानढोका दरवारको ढोकामा जानकारीका लागि टाँस गरिएको छ । हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी र महाकाली नाच भक्तपुरको रामचन्द्र र महाकाली नाचलाई जात्राको तालिकाको विषयमा जानकारी गराइसकिएको छ । योपल्ट काठमाडोँ महानगरपालिकाले २२ राष्ट्रका महानगरप्रमुखलाई जात्रा अवलोकनका लागि आमन्त्रण गरेको यस अघि नै सार्वजनिक भइसकेको छ ।
गद्दी बैठक पुनःनिर्माण सम्पन्न भइसकेको हुँदा योपल्ट जात्राका लागि गुठियार, रैरकमी उत्साहित भइरहेको महानेनाइके दुर्गाबहादुर डङ्गोल (ब्रह्मटोल) ले जानकारी दिनुभयो । दक्षिण जैशिदेवल र उत्तर नरदेवी क्षेत्रका सबै महाने जात्रामा सहभागी हुँदैछन् ।
श्रीकुमारीघरमा महानेका लागि जाँड बनाउन गुठियार धनभाजु महर्जनलाई जिम्मेवारी दिइएको छ । यसैगरी रथ बनाउने स्व. पञ्चरत्न स्थापितको नकर्मी टोली परिवारलाई पनि रथ मर्मतको लागि जिम्मेवारी दिइएको छ ।
रथमा कानफट्टा नाथ योगीले गर्ने जोगीचक्र पूजा र रथ तान्नेलाई बल आओस् बलम् भोज गरिने भए पनि त्यसको साइत भने तोकिसकिएको छैन ।
त्यसैगरी श्रीकुमारीले गर्ने गोदानको पनि साइत नतोकिएको व्यवस्थापनमा सहभागी सुरेन्द्र अमात्यले जानकारी दिनुभयो ।
त्यस जात्रामा समरजङ्ग कम्पनी सहभागी हुने छ । आफ्ना जवानलाई अन्तर्राष्ट्रिय पाहुना सहभागी हुने जात्रामा उत्साह र अनुशासनका साथ सहभागी हुन भनेको कम्पनी प्रमुख प्रकाशचन्द्र पन्त बताउनुहुन्छ । समरजङ्ग कम्पनी जात्राको अग्रभागमा रहने प्रचलन छ ।साभार गोर्खापत्र बाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *