न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प
December 5, 2018
राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने
December 6, 2018

कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह

काठमाडौँ, मङ्सिर २० गते । सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको कृषि तथा पशुपक्षी मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूले सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

नेपालको ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रिकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको मन्त्री खनालले बताउनुभयो ।

नेपालमा सबै प्रकारका कृषिउपज उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाइ छ ।

जवाफमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले नेपाल सरकारले सहयोगका प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा चालू रहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूतको भनाइ थियो । रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *