बाघको छालासहित तीन पक्राउ
December 11, 2018
मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु
December 11, 2018

प्रेमिका र छोरी लिएर नेपालबाट फर्किए शंकास्पद जर्मन

काठमाडौँ, मङ्सिर २५ गते । नेपालस्थित जर्मन दूतावासले शंकास्पद गतिविधिमा संलग्नताको आशंकामा पक्राउ आफ्ना नागरिक र उनकी चिनियाँ प्रेमिकालाई जर्मनी नै फर्काएको छ। ओभर स्टे दुवैलाई दूतावासले नै दिएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलस्थित सनराइज कटेजबाट पक्रेको थियो।

अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले उनीहरूलाई फिर्ता पठाइएको बताए। दूतावासले जर्मनीका आर्ने बेन्जामिन साव र प्रेमिका सेइमेङ झाओबारे भदौ २७ मा सीआईबीलाई सूचना दिएको थियो। त्यसकै आधारमा प्रहरीले कात्तिक २६ मा दुवै जनालाई पक्रेर अध्यागमन विभागमा बुझाएको थियो। विभागले बेन्जामिनलाई दुई र झाओलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाएर निस्कासन गरेपछि उनीहरू जर्मनी नपुगुन्जेल दूतावासले निगरानी गरेको थियो। सन् २०१६ देखि अवैध तवरबाट बसिरहेका बेन्जामिन के गर्थे केही खुलेको छैन। उनले जर्मनीमा समेत कुनै अपराध गरे÷नगरेको दूतावासले जानकारी दिएन।

अभिभावकको पहलमा उनीहरू फर्किएका हुन्। उनीहरूबारे अध्यागमनका अधिकारीले नेपालस्थित चिनियाँ र जर्मन दूतावाससँग निकैपल्ट छलफल गरेका थिए। बेन्जामिनले थाइल्यान्ड जान भदौ ७ गते ट्राभल डकुमेन्टका लागि ज्ञानेश्वरस्थित जर्मन दूतावासमा निवेदन दिएका थिए। तर दूतावासले डकुमेन्ट दिन मानेन। त्यसपछि दूतावासले सीआईबीलाई सूचना दिएको थियो। उनले सन् २०१६ अक्टोबरमा ट्राभल डकुमेन्टका लागि आवेदन दिँदा पनि पाएका थिएनन्।

बेन्जामिन स्वदेश फर्कन डराइरहेका थिए। अध्यागमन विभागमा भेटिएका उनले जर्मन सरकारले आफूविरुद्ध कडा कारवाही गर्न सक्ने आशंका व्यक्त गरे। उनले भने, ‘जर्मनीमा मेरो अरु नै कथा छ। त्यसबारे म अहिले केही भन्न चाहन्नँ।’ दूतावासले जर्मनीमा उनले अपराध गरेको भन्दै झाओलाई लैजान नसक्ने जनाएको थियो। तर बेन्जामिनले प्रेमिका र छोरी छाडेर नफर्कने अडान लिएपछि दूतावासले तीनै जनालाई फिर्ता लगेको हो। अध्यागमनको हिरासतमा रहेका बेला झाओले छोरी पाएकी थिइन्।

उनीहरू पक्राउ परेपछि दुवै जनाका अभिभावकसमेत यहाँ आएका थिए। बेन्जामिनका बाबुले झाओलाई बुहारी र छोरीलाई स्वीकार्ने बताएपछि जर्मन दूतावासले कागजात बनाइदिएको थियो।साभार अन्नपूर्ण पोस्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *