योगी नरहरिनाथ र यो राष्ट्र (पढ्नै पर्ने लेख )
November 22, 2017
बूढीगण्डकीका लागि सवा १३ अर्ब इन्धन कर संकलन
November 24, 2017

यो देशले योगी नरहरिनाथलाई बिर्सनु घोर कृतघ्नता हो

यो देशले योगी नरहरिनाथलाई बिर्सनु घोर कृतघ्नता हो । योगी नरहरिनाथजीको योगदान बारेमा चर्चा गर्ने होभने एउटा छुट्टै ‘महाभारत’ नै तयार हुन्छ । कुन क्षेत्रमा छैन योगीजीको योगदान ? धर्मदेखि इतिहाससम्म, साहित्यदेखि भूगोलसम्म, शिक्षादेखि राजनीतिसम्म नेपालका कुनैपनि क्षेत्रमा योगीजीको गौरवमय उपस्थिति छ । ‘दिव्योपदेश’ प्रचार गर्नदेखि ‘कोटिहोम’ अभियानसम्म, संस्कृत पाठशालादेखि विश्वविद्यालय खोल्नसम्म योगीजी अग्रणी रहेको तथ्य कसैले मेटेर मेटिने छैन । योगी नरहरिनाथ नपुगेका गाउँ शायदै होलान् नेपालमा, योगीजीका नजर नपरेका ठाउँ कमै होलान् । साक्षात् गोरखनाथ नै प्रकटित भएका भन्दाखेरीमापनि अतिशयोक्ति नहुने व्यक्तित्व छ योगी नरहरिनाथको । यदि यो देशमा कसैलाई ‘राष्ट्रगुरु’ उपाधि दिन मिल्छभने त्यो महान् व्यक्तित्व योगी नरहरिनाथ नै हुन् ।

तर अपशोच ! उनै महान् ऋषिकल्पलाई पनि हामी नेपालीले चिन्न सकिरहेका छैनौं । नयाँ पुस्ताले त इतिहासको किताबमा पन्ध्र सालमा ‘कर्मवीर महामण्डल’ खोलेर तत्कालीन बीपी कोइराला सरकार विरुद्ध आन्दोलन गर्ने व्यक्तिका रुपमा मात्र उहाँको नाम पढ्ने र त्यही घटनाका आधारमा मात्र मनपर्दी छवि बनाउने हुन् कि भन्ने जस्तो अवस्था आइसक्यो । उहाँको देनका विविध पाटाहरु बिर्सनु नेपाली समाजकालागि दुर्भाग्यपूर्ण हुने हुँदा योगीजी बारेमा बेला नघर्कँदै सकारात्मक कार्य गरिनु जरुरी छ । उहाँलाई नचिन्नु वा उहाँको यथार्थ मूल्याङ्कन नगरिनु त सरासर कृतघ्नता हो; खेदको कुरा हो ।

“गर्ने भन्ने हनुमान, पगरी गुत्ने ढेँडु” ! यो उखानले व्यंग्य गरेझैं नै यो देशमा कस्ता–कस्ताले सम्मान पाएका छन् भने सम्मानित गरिनु पर्नेहरुप्रति चाहिँ कृतघ्नता प्रकट भइरहेको छ । करोडौं भ्रस्टाचार गर्नेहरु दुई–चार लाखको दान–दातव्यबाट उम्कन पाइरहेकै छन् । पैसाको बलमा जिउँदैमा आफ्नो सालिक बीच सडकमा ठड्याउने पनि यहीँ देखिए र ‘मेडिया टाइकुन’ भएकै कारणलेमात्र एक हजार पल्ट भन्दापनि बढी दोसल्ला ओडाउने र ओड्ने प्रवृत्ति पनि यहीँ देखिएकै छ । योगदान कता, सम्मान कता ! न सम्मान गर्नेलाई लाज छ; न त सम्मान ग्रहण गर्नेलाई शरम छ । जल्ले जे भनेर दिएपनि हुने र जल्ले जे ठानेर लिएपनि हुने ! धार्मिक क्षेत्रमा त झन् यो विकृति कति छ कति । जुन देशमा अन्याय, अत्याचार, पापाचार, भ्रस्टाचारको जग्जगी छ त्यही देशमा धर्मावतारको पगरी गुथ्नेहरु बर्खे च्याउ झैं उम्रेको पाइनुलाई विडम्बना नभने के भन्ने ?

एकातिर धर्म तथा समाजसेवाको नाममा माफियाको हालिमुहाली चलिरहेको स्थिति छभने अर्कातिर वास्तविक समाजसेवीप्रति समाजको ध्यान जान सकेकै छैन । यही स्थितिले गर्दा योगी नरहरिनाथलाई समेत नेपालले समुचित सम्मान गरिरहेको छैन । योगीजीको सामुन्ने दाँज्न समेत नसुहाउनेहरु दिनरात दाह्रा ङिच्याएर कुर्लँदै गर्दा उहाँचाहिँ देशको दुर्गति देखेर व्यथित भई दिन काट्नु परिरहेको छ ।

आजभन्दा चार–पाँच दशक अघिनै जीवित किंवदन्ति (लिभिङ्ग लेजेन्ड) बनिसकेका यी महापुरुष आज ठेट्नाहरुको नौटङ्की हेरेर बसिरहनु परेको छ । यो कृतघ्न समाज कुन दिन उनको देहावसान होला र समवेदना सन्देश दिउँला भनेर कुरिरहेझैं देखिन्छ । कसैलाई मतलब छैनकि योगीजीको सामान्य आहारका लागि आवश्यक अन्न समेत जुटिरहेको छ वा छैन ? उहाँलाई बिसञ्चो हुँदा ओखतिमूलो गर्न कसैलाई हेक्का छ वा छैन ? बर्खामा उहाँको कुटी चुहिँदा किन कसैको मन रुँदैन ? के मान्छे भएर यति हदसम्म कृतघ्न हुन मिल्छ ?

ढिलै भएपनि सनातन धर्म सेवा समितिले यही साउन सात गते मंगलवारका दिनमा गुरुपूर्णिमाको उपलक्ष्यमा पशुपतिनाथस्थित शङ्कराचार्य मठमा एक कार्यक्रम आयोजना गरी योगी नरहरिनाथजीको सम्मान गरेर एउटा निक्कै राम्रो कार्य गरेको छ । उक्त कार्यक्रममा सहभागी भइरहँदा मलाई अनुभूति भइरह्योकि जसरी सूर्यलाई कुनै प्रकाशको जरुरत छैन; तर सूर्यलाई दीप प्रदर्शन गराएर हामी आफ्नै मनको अँध्यारोलाई हटाइरहेका हुन्छौं —त्यसरीनै योगीजीलाई सम्मान गरेर सनातन धर्म सेवा समिति आफैं सम्मानित भएको छ । नक्कली मयुरहरुको नाचबाट प्रभावित नभई असलीलाई नै छान्न सकेकोमा सनातन धर्म सेवा समितिका पदाधिकारीहरुलाई साधुवाद छ । कस्ता व्यक्तित्वलाई हो त सम्मान गर्नुपर्ने भन्ने सन्दर्भमा यस कार्यले उदाहरण प्रस्तुत गरेको छ । अरुलेपनि सिक्नु पर्छ यो । योगी नरहरिनाथजीलाई अमुक संस्था विशेषलेमात्र किन, राज्यलेनै पूर्ण सम्मान प्रदान गर्नुपर्दछ । उहाँको जीवनी पाठ्यपुस्तकमा राखिनु पर्दछ; हुलाक टिकट प्रकाशित गरिनु पर्दछ र उच्च भन्दा उच्च सम्मानले उहाँलाई विभूषित गरिनु पर्दछ ।

यस अन्धकारका बेलामा योगीजीको साथको समाजलाई अझ आवश्यकता छ । उहाँ त नेपालका कुलदीपक हुनुहुन्छ— जाज्वल्यमान् सूर्य । तर उमेर एवम् शारिरीक अवस्था समेतलाई ख्याल राख्दा चाँडैनै यस्तो स्थिति नआउला भन्न सकिन्न कि हामीले चाहेर पनि उहाँको मार्ग–निर्देशन प्राप्त गर्न सक्नेछैनौं । अनि त्यतिखेर योगीलाई सम्झेर गल लाग्दा के गर्ने नि ! तसर्थ, बुद्धिमानी यसैमा छकि समय छँदैमा उहाँलाई चिनौं । पछि त राम्ररी पछुताउने अवसर समेत नमिल्न सक्छ ।

(स्पेसटाइम दैनिक, वर्ष २ अंक २६५, वि.सं. २०५९ साउन ११ शनिवार, पेज नं. ६ मा प्रकाशित)

1 Comment

  1. Green Garcinia Gold 101 says:

    Thanks for sharing such a good blog post. You truly caught my attention as well as just intended to reach out.

Leave a Reply

Your email address will not be published. Required fields are marked *