थारू महोत्सव आयोजना गरिने
December 29, 2018
बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही रु पाँच लाख दिइने
January 28, 2019

सय थुम्काको सैलुङ

काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ करिब १४० किलोमिटरको दूरीमा रहेको सैलुङडाँडा हिमाली जिल्ला दोलखा र रामेछापको सङ्गमस्थलका साथै यी दुई जिल्लाबीच सिमानाको समेत काम गर्छ । सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब सयवटा स–साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रोजस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान हुन् । यस क्षेत्रमा रहेको सैलुङ गुम्बा, सैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर एवम् थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक महŒवका विषय हुन् । सैलुङ डाँडाबाट अन्नपूर्ण, मनासलु, गणेश, लाङटाङ, गौरीशङ्कर, नुम्बुर, सगरमाथाजस्ता सुन्दर हिमालका दृश्य एवम् प्राकृतिक दृश्यहरूको अवलोकन गर्न पाउने जोकोही पनि आल्हादित हुन्छ । यो डाँडाको मुख्य विशेषता यहाँबाट चारै दिशामा करिब ३६० डिग्रीको कोणमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।
जैविक विविधताले भरिपूर्ण यो क्षेत्र हिमाली जङ्गल र घाँसेमैदानले ढाकिएको र लालीगुराँस, ओखर, सल्लाको जङ्गल रहेको यस क्षेत्रमा करिब १५० प्रकारका जडीबुटीहरू पाइन्छन् । गुराँसका फूलहरूले जङ्गल मनोरम बनाइराख्दा वा रूखका हाँगामा फुलिरहेका सुनाखरी फूलका दृश्य निकै चित्ताकर्षक हुन्छन् । विभिन्न जङ्गली जनावर एवम् चराचुरुङ्गीको पनि बसोबास रहेको यो क्षेत्र जङ्गल भ्रमण, चराचुरुङ्गीको अवलोकन, अनुसन्धान एवम् ट्रेकिङ् क्षेत्रका रूपमा विकास गरेर सम्भावना प्रशस्तै छन् ।

मिक दृष्टिकोणले पनि यो क्षेत्र हिन्दु एवम् बुद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि सैलुङडाँडामा बौद्ध चैत्य र हिन्दुका लागि सैलुङ महादेवस्थान रहेकाले यी दुवै धर्मका अनुयायीका लागि यो स्थान पवित्र मानिन्छ । यहाँ हरेक वर्ष बौद्ध पूर्णिमाको दिन लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चालिआएको छ । यसबेला हजारौँ भक्तजनहरू सैलुङडाँडामा भेला भएर लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना एवम् आस्था प्रकट गर्ने गरिन्छ । यस्तै प्रत्येक बाह्र वर्षमा लाग्ने गोदावरी नुहाउने मेला एवम् सैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने यहाँका बासिन्दाको विश्वास छ ।
विशेषगरी बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज, नयाँ वर्षलगायतका मुख्य चाडपर्वमा यहाँ मानिसको घुइँचो लाग्ने गरेको छ । यस क्षेत्रमा रहेको धर्म दुलो, बौद्ध चैत्य, कछुवा, बाघ र खरायोजस्ता देखिने ढुङ्गाका आकृति एवम् भर्खरै निर्माण भएको भ्युटावर मुख्य आकर्षणका केन्द्र हुन् ।
यो सैलुङ क्षेत्रलाई पर्यटकीय उत्कृष्ट ट्रेकिङ क्षेत्र बनाउनका लागि अर्को पर्यटकीय गन्तव्य जिरीसँग जोड्नु महŒवपूर्ण छ । यसअन्तर्गत मुडे लाम्चे आहाल, देउराली, ढुङ्गे कालापानी (सैलुङडाँडा), भँैसे बजार पवटी, चर्णावती, तामाकोसी जिरीसम्मको क्षेत्र समेट्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने सम्भावना प्रशस्तै छ । पर्यटकलाई लोभ्याउन यस क्षेत्रमा प्याराग्लाइडिङको पनि राम्रो सम्भावना देखिन्छ ।
देशभरि नै परिचित मुडेको आलु भनिने आलुको उत्पादन क्षेत्र पनि सैलुङ नै हो भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । यस क्षेत्रमा उत्पादन हुने आलु, चौँरीको चीज, मेलुङ गाउपालिकाको पवटीमा उत्पादन हुने सुन्तलाको राम्रो बजार व्यवस्थापन गर्न आवश्यक छ ।साभार गोर्खापत्र बाट । साभार गोर्खापत्र बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *